रेनीको गीत र ट्रेलर सार्वजनिक

भदौ ८ गते प्रदर्शन हुने तयारीमा रहेको ‘रेनी’ फिल्मको ट्रेलर र मलाई नाइँ नाइँ बोलको गीत सार्वजनिक गरिएको छ । विमला मल्ल र सञ्जीव मल्लले निर्माण गरेको फिल्मको आइतबार राजधानीको बिग सिनेमामा प्रेसमिट गरी गीत र ट्रेलर प्रदर्शन गरिएको हो ।

नयाँ पत्रिकामा दिइएको समाचार अनुसार पुष्कर सुनुवारको स्वर, संगीत र मदन खड्काको कोरियोग्राफी रहेको सो गीतमा नवनायिका सनम मल्ल र दीपक ढकाललाई रोमान्टिक भावमा प्रस्तुत गरिएको छ । गिरीश रिजाल (समीप)को निर्देशनमा बनेको फिल्ममा सरोज खनाल, सनम मल्ल, दीपक ढकाल, शूरवीर पण्डित, गिरीश रिजाल, रमेश लम्साल, बबिता लम्साल, टंक डुम्रे, गुरु भुटिया, विजय तिखातारीलगायत कलाकारले अभिनय गरेका छन् ।

प्रेसमिटमा निर्मात्री विमलाले रेनी निकै मीठो फिल्म बनेको बताइन् । उनले आफूहरूले निकै मिहिनेतका साथ काम गरेकाले दर्शकको साथ पाउने विश्वास व्यक्त गरिन् । त्यसैगरी, यही फिल्मबाट हिरोइन बनेकी सनमले आफ्नो काम दर्शकले मन पराउनेमा आशावादी रहेको बताइन् । फिल्मकी स्क्रिप्ट राइटर र गीतकारसमेत रहेकी सनमले ‘रेनी’पछि आफू निरन्तर फिल्म अभिनयमा लाग्नेसमेत बताइन् । उनले फिल्ममा कमेडी, लभ, एक्सन र सेन्टिमेन्ट्स सबै खजाना समावेश भएको उल्लेख गरिन् ।

अभिनेता दीपकले स्क्रिप्ट निकै मन परेको बताउँदै सोहीअनुसार राम्रो फिल्म बनेको बताए । त्यस्तै, निर्देशक गिरीशले आफूले निकै मिहिनेतका साथ फिल्म निर्देशन गरेकाले दर्शकको मन जित्नेमा ढुक्क रहेको बताए । कार्यक्रममा हास्यकलाकार टंक डुम्रे र विजय तिखातारीले सुन्दर फिल्म बनेकाले सबैको सहयोगको अपेक्षा व्यक्त गरे । गोविन्द शाहीले वितरण गर्ने फिल्म शाही मल्ल फिल्म्सको ब्यानरमा निर्माण भएको हो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *